काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय स्तरमा गरिएका केही महत्वपूर्ण निर्णयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। बिहीबार सम्पन्न निर्णयहरूलाई शुक्रबार जानकारी गराउँदै उनले विभिन्न पाँच क्षेत्रमा तत्काल लागू हुने पहलहरूको घोषणा गरेका हुन्।
नेपालमै क्यान्सर उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरु (Radio Isotopes) उत्पादन गर्नका लागि औषधी उपचार प्रयोजनका लागि मात्र प्रयोग हुने आणविक अनुसन्धान केन्द्र खोल्नका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णय गरिएको जानकारी मन्त्री पुनले दिएका छन् ।
त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) लाई दक्ष जनशक्ति उत्पादन गर्न सक्षम बनाउन यसको संरचनात्मक पुनर्संरचनाका लागि कार्यदल तुरुन्त गठन गरिने निर्णय भएको उल्लेख गरेका छन् ।
त्यस्तै मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई उपलब्धिमूलक बनाउँदै संस्थालाई थप प्रभावकारी बनाउन सुधारात्मक कदम चाल्ने र त्यसका लागि कार्यदल बनाइने निर्णय गरिएको जानकारी दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयमार्फत सार्वजनिक गरिने जानकारी दिँदै मन्त्री पुनले संस्कृत विश्वविद्यालय अन्तर्गत रिक्त रहेका सेवा आयोगका पदाधिकारीहरूमा नियमानुसार छिट्टै नियुक्ति गरिने निर्णय गरिएको पनि बताएका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यस्ता निर्णयहरू जनतासँग साझा गर्नु सरकारको पारदर्शिता र जवाफदेहितातर्फको पहल भएको बताएका छन् ।
मन्त्री पुनले बिहीबार गरेका छलफल, निर्णय तथा निर्देशन :
१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (Radio Isotopes) औषधिहरुको उत्पादन नेपाल मै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधी उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।
२) सिटिइभिटी को पुर्नसंरचना गरेर त्यहाँ बाट सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने।
३) नास्टमा बैज्ञानिक अनुसंधान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने ।
४) त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।
५) संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने ।

























