भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै उनी राज्य चलाउने जिम्मेवारीमा छन् कि अपराधीहरूको संरक्षणमा, भन्ने अस्पष्ट भएको टिप्पणी गरेका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गृहमन्त्री अर्यालले प्रतिशोधको राजनीति गर्दै आपराधिक समूहको ढाल बनेर समर्थन गरिरहेको आरोप लगाए ।
पोखरेलले प्रश्न गरे, “गृहमन्त्री जेलबाट भागेका अपराधीलाई किन संरक्षण गर्छन् रु हत्या र लुटपाटमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने काम किन भइरहेको छ रु यस्ता गतिविधिले गृहमन्त्रालयको गरिमा गिराउँछ, शान्ति सुरक्षा कमजोर पार्छ।”
उनका अनुसार, गृहमन्त्रीले प्रहरीको मनोबल उच्च बनाउनुको सट्टा गिराउने काम गरिरहेका छन्।
महासचिव पोखरेलले सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति संविधानअनुसार नभएको दाबी गर्दै भने, “हामीले त्यसबेला परिस्थितिका कारण मौनता साध्यौँ, तर अहिले उहाँ प्रतिशोधको मार्गमा हिँड्न खोजिरहनुभएको छ ।”
चुनावको नाममा नाटक, असोज १८ दोहोरिने खतरा
पोखरेलले सरकारको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन गराउनु हो भन्दै त्यसका लागि सुरक्षाको प्रत्याभूति, प्रहरीको मनोबल र लुटिएका हतियारको फिर्ती अपरिहार्य भएको उल्लेख गरे।
“तर सरकार दलहरूसँग संवाद नगरी एकतर्फी रूपमा चुनावको नाटक मञ्चन गर्दैछ,” उनले भने, “यसले २०६३ सालको असोज १८ जस्तै नाटक दोहोरिने खतरा बोकेको छ, जुन समय राजा ज्ञानेन्द्रले वैधता नपाएको चुनाव गराउन खोजेका थिए।”
एमालेलाई जनताको मनबाट हटाउन सकिँदैन
सरकारबाट बाहिरिए पनि एमालेलाई जनताको हृदयबाट हटाउन नसकिने पोखरेलको दाबी छ । “सरकारबाट हटनु परेको हो, तर जनताको मनबाट हामी हटेका छैनौं। सत्यको पक्षमा उभिएर हामी फेरि जनताकै बीचमा जानेछौँ,” उनले भने।
पोखरेलले देशलाई संविधानवादको दिशामा फर्काउने अभियानमा पार्टी जुट्ने पनि स्पष्ट पारे।
उनले २३ गतेको घटनालाई लिएर पार्टी अध्यक्ष केपी ओलीमाथि भएको प्रचारप्रति पनि आपत्ति जनाए । “बानेश्वरमा ओलीले हतियार चलाएको जस्तो प्रचार गरिएको छ, जुन पूर्णतः निराधार र बदनाम गर्ने प्रयास हो,” पोखरेलको भनाइ थियो।
























