काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बलपूर्वक गठन गरिएको भन्दै संविधान र लोकतन्त्रको खिल्ली उडाइएको आरोप लगाएका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री सुशीला कार्कीको सरकार असंवैधानिक रूपमा बनेको दाबी गर्दै, “प्रधानमन्त्री बन्ने शर्त संसद् विघटन थियो — जुन लोकतन्त्रको जग भत्काउने प्रयास हो,” भने।
उनले थपे, “कार्की आफैँ जेनजी बनेर २३ र २४ गते सडकमा उत्रनुभयो, राष्ट्रपतिले तोकेको मिति (फागुन २१) मा निर्वाचन गराउने सट्टा कुचेष्टा भयो। यस्तो सरकार नेपाली जनताको होइन, यसको उद्देश्य अस्पष्ट छ।”
ओलीले आफूलाई राजनीतिक रूपमा निष्क्रिय पार्न राति ३ बजेसम्म मन्त्रिपरिषद् बैठक बस्ने, पासपोर्ट रोक्ने र उपत्यका बाहिर जान नदिने प्रयास भएको आरोप लगाए।
“यस्ता सडक तमासाले केपी ओली डराउँदैन। सुशीला कार्कीको डरले म भाग्दिनँ,” उनले दृढताका साथ भने।
हालका गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्र थाहा पाएको उल्लेख गर्दै ओलीले कटाक्ष गरे, “गृहमन्त्री बाबुलाई धेरै नचम्किन सुझाव दिन्छु। देश चलाउने कुरा रमाइलो होइन, बुझेर बोल्नू।”
संपत्ति छानबिन गर, म तयार छु
सरकारले नेताहरूलाई बदनाम गर्न मुद्दा लगाउने, जेल हाल्ने तयारी गरिरहेको आरोप लगाउँदै ओलीले आफूले आर्जन गरेको सम्पत्ति छानबिन गर्न सरकारलाई खुला चुनौती दिएका छन्।
“मेरो सम्पत्ति जाँच गर्नुस्, म तयार छु,” उनले भने, “तर जनतालाई तर्साएर, नेताहरूलाई जेल हालेर, बुथ कब्जा गरेर जित्ने सपना देख्नेहरूलाई जनताले चिसो पानी खन्याउनेछन्।”
उनका अनुसार, चुनावको नाममा नाटक र नेताविरुद्ध सुनियोजित षड्यन्त्र भइरहेको छ। “राजनीतिक दललाई बाइपास गरेर चुनाव हुन्छ?” भन्दै उनले सरकारको व्यवहार लोकतान्त्रिक नभएको टिप्पणी गरे।
ओलीले गृहमन्त्रीमाथि व्यक्तिविशेषको नाम लिएर उजुरी हाल्न निर्देशन दिएको आरोप पनि लगाए। “यसरी राज्य आतङ्क सिर्जना गर्न खोजिएको छ,” उनले भने।
























