काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले हालको सरकारको प्रमुख कार्यादेश निर्धारित मिति (फागुन २१) मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यो सरकार ‘जेनजी आन्दोलन’ को जगमा, राजनीतिक दल र जनताको सहभागितामा बनेको स्मरण गराए।
उनले भने, “सरकार निर्वाचन गर्न प्रतिबद्ध छ। सबै राजनीतिक दल र जनताको चाहना यही हो। निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ। अब त्यसका लागि सबै पक्षले वातावरण बनाउनुपर्नेछ।”
मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे स्पष्ट प्रतिबद्धता जनाइसकेको र सञ्चार क्षेत्रबाट पनि सहयोगको अपेक्षा गरिएको छ। उनले राष्ट्रिय समाचार समिति (रासस) जस्ता सार्वजनिक संचार संस्थाहरूले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
मन्त्री खरेलले निर्वाचनसँगै सरकारले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा छानबिन र कारबाही गर्ने, साथै प्राकृतिक विपत्तिपछिको राहत तथा पुनःस्थापनाको कामलाई अघि बढाउने बताउँदै यी सबै विषय सरकारको ‘म्यान्डेट’ भएको उल्लेख गरे।
आसन्न निर्वाचनलाई सफल बनाउन सरकार विभिन्न राजनीतिक दलहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष संवादमा संलग्न रहेको मन्त्री खरेलले जानकारी दिए। निर्वाचनको वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

























