काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध थप एक उजुरी परेको छ।
बुधबार युवराज पौडेल ‘सफल’ ले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्। प्रारम्भमा महानगरीय प्रहरी कार्यालयमा जाहेरी दिन गएका सफलको निवेदन प्रहरीले नलिएपछि उनले हुलाकमार्फत उजुरी पठाएका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले उजुरी आएको पुष्टि गर्दै अनुसन्धानका लागि गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा पठाइने जानकारी दिए।
यसअघि एमाले निकट अनेरास्ववियुले पनि उनीहरुविरुद्ध उजुरी दर्ता गराएको थियो। सफलको उजुरीमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बालेन र सुदनको प्रमुख भूमिका रहेको आरोप लगाइएको छ।
सफलका अनुसार, बालेनले आन्दोलनको योजना बनाएको, सामाजिक सञ्जालमार्फत उक्साएको र विभिन्न गतिविधिमा निर्देशन दिएको उल्लेख छ। दुई वर्षअघि श्रीमती चढेको गाडी प्रहरीले चेक गर्दा सिंहदरबार जलाउने धम्की दिएको प्रसंगसमेत उनले उजुरीमा समावेश गरेका छन्।
सुदन गुरुङमाथि भने सिंहदरबार र सर्वोच्च अदालत जलाउने योजना बनाएको, आन्दोलनमा हिंसात्मक रणनीति अपनाएको तथा विदेशी इसारामा प्रधानन्यायाधीशको राजीनामा माग गराउन भूमिका खेलेको आरोप छ।
सफलले दुवैजनालाई राजद्रोह सम्बन्धी कसुरमा हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
यता, सुदन गुरुङले पनि जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका छन्। उनकाे उजुरी पनि आयोगमै पठाउने तयारी गरिएको छ।

























