काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा आगो लागे लगत्तै महानगरको दमकल जाने प्रयास गरेपनि आन्दोलनकारीले नै अवरोध गरेको बताएका छन् ।
सिंहदरबारमा लागेको आगो निभाउन स्थानीय सरकार पनि चुप किन बस्यो भनेर चौतर्फी आलोचना भइरहेका बेला बालेनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारको आगो निभाउने प्रयास गरे पनि आन्दोलनकारीले नै महानगरको दमकल रोकेको स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन ।’
साथै नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास नगरिएको पनि बताए।
उनले भने, ‘नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो। ‘
भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा राजधानीलगायत देशका विभिन्न संरचनाहरूमा तोडफोड तथा आगजनी गरिएको थियो । सोही क्रममा सिंहदरबार पनि जलेको थियो ।

























