काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म अति भारी वर्षा हुने सम्भावनाबारे चेतावनी जारी गरेको छ।
शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि अझै अति भारी वर्षा भइसकेको छैन। पछिल्ला १२ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगन्जमा ११०.१ मिलिमिटर मापन भएको विभागले जनाएको छ।
विभागका महानिर्देशक कमलराम जोशीले शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसहितका सरकारी अधिकारीलाई मौसमी अवस्थाबारे ब्रिफिङ गर्दै भने, “मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका वासिन्दालाई विशेष सतर्क रहन अनुरोध गर्दछु। यात्रामा निस्कँदा विशेष सावधानी अपनाउनुहोला।”
विभागका अनुसार २४ घण्टामा २०० मिलिमिटर वा त्योभन्दा बढी वर्षा भएमा भारी र ३०० मिलिमिटरभन्दा बढी भएमा अति भारी मानिन्छ।
रेडअलर्ट जारी गरिएका १७ जिल्ला
कोशी प्रदेश : सुनसरी, उदयपुर
मधेश प्रदेश : सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
बागमती प्रदेश : सिन्धुली, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन
यी जिल्लामा आइतबार बिहानसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसबाहेक कोशी प्रदेशका झापा, मोरङ, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा; गण्डकी प्रदेशको गोरखा र पूर्वी नवलपरासी; तथा लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुमा समेत उच्च जोखिम रहेको विभागले जनाएको छ।
भोलि आइतबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशमा भने सामान्य बदली रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, साथै अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

























