काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशलाई भूराजनीतिक चक्रव्यूहबाट जोगाउँदै अखण्ड नेपालको नवनिर्माणमा जोड दिनुपर्ने बताएका छन्।
उनले राष्ट्रको नेतृत्व र नीति निर्माणमा नयाँ पुस्ताको अभिलाषा र आकांक्षा समेटिनुपर्ने धारणा व्यक्त गरेका छन्। “अब बिगार्ने, भत्काउने र जलाउने होइन, देश सपार्ने र बनाउने दिशामा अघि बढ्न आवश्यक छ,” शाहले सन्देशमा उल्लेख गरेका छन् ।
शाहले कुनै परनिर्भरता वा बाह्य प्रभावमा नफसी, देशले आफ्नै मार्ग आफैं तय गर्दै राष्ट्रिय अखण्डताको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार, “हाम्रो राज्यपद्धति र व्यवस्थापन प्रणाली जनभावनालाई ध्यानमा राख्दै समयानुकूल सुधार गर्दै अघि बढ्नुपर्छ ।”
सन्देशमा उनले आधुनिक प्रविधि र वैज्ञानिक दक्षता अंगाल्दै युवा पुस्तामा निहित देशभक्ति, ऊर्जाशक्ति र नवीन सोचलाई राष्ट्र निर्माणको मूल आधार बनाउनुपर्ने बताए ।
“हाम्रो देशको ऐनामा हामी आफैंलाई हेरौं,” भन्दै पूर्वराजाले आत्मसमीक्षा गर्दै सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन सबैलाई आह्वान गरेका छन् ।
उनले स्पष्ट रूपमा भनेका छन्, “हाम्रा कार्यक्रम अब सपार्नेतिर अघि बढ्नुपर्छ, बिगार्ने समय सकियो। यही आजको आवश्यकता हो ।”




















