
काठमाडौं । चाडपर्वको सन्दर्भमा सडक सुरक्षा र जनचेतनाका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलको संयुक्त आयोजनामा ‘ट्राफिक वाक’ कार्यक्रम सम्पन्न भएको छ।
‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित शनिबार बिहान रानीपोखरीबाट सुरु भएको वाक र्याली रणोद्धीप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म आयोजना गरिएको थियो। र्यालीमा सहभागी जनपद प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका सदस्यहरूले जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै नागरिकहरूमा सुरक्षित यात्राको सन्देश दिएका थिए।
र्यालीपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना गरेर सभ्य समाज निर्माणमा योगदान दिन सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा पनि यस्तो सकारात्मक कार्यक्रम आयोजना हुनु समाजका लागि प्रेरणादायी भएको बताउँदै, चाडपर्वको नाममा मादक पदार्थ सेवन, तीव्र गतिमा सवारी चलाउने वा लागूपदार्थ प्रयोग गर्ने कार्यले गम्भीर दुर्घटनाको जोखिम बढाउने बताउनुभयो।
स्वागत मन्तव्य राख्दै ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले २४ भदौको जेनजी आन्दोलनपछिको अराजक अवस्थाका बाबजुद ट्राफिक प्रहरी विभिन्न अभाव र कठिनाइसँग जुध्दै सडकमा खटिएको र आमनागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्न निरन्तर प्रयासरत रहेको जानकारी दिनुभयो।
उक्त आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरी कार्यालय तथा सामग्रीमा आगजनी र लुटपाट गरेका थिए। त्यसपछि ट्राफिक प्रहरीहरू बर्दीविना काममा फर्किन बाध्य भएका थिए, तर पनि उनीहरूको सेवा निरन्तर जारी रहेको एसएसपी अधिकारीले बताए।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले धन्यवाद मन्तव्य दिँदै ट्राफिक प्रहरीको सेवा, समर्पण र जनसुरक्षाप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए।
उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी बलका पदाधिकारी, उपत्यकाभित्रका सामुदायिक प्रहरी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

























