काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँच (कनेक्सन) का आधारमा रोकिएका सबै अनुसन्धान फाइलहरू अब खुल्ने बताएका छन् । उनले शान्ति, सुरक्षा र सुशासन सुनिश्चित गर्न ती फाइलहरू खोल्नु अनिवार्य भएको बताएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले भने, “पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, बिथोलिएको थियो, अब त्यस्तो हुँदैन।”
उनले स्पष्ट पारे, “यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा सम्भव छैन, र शान्ति सुरक्षाविना आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सकिँदैन।”
गत भदौ २४ गते भएको जेनजी युवाको प्रदर्शनका क्रममा सीआईबीको कार्यालयमा क्षति पुगेको थियो। त्यसको निरीक्षणपछि मन्त्री अर्यालले अनुसन्धानमा रोकिएका फाइलहरू खोल्ने प्रक्रिया सुरु गर्ने बताएका हुन्।
उनका अनुसार, “आर्थिक अपराध, वित्तीय अपराध र भ्रष्टाचार सम्बन्धी अनुसन्धानहरूमा देखिएको अवरोध अब हटाइनेछ। मैले त्यसअनुसार सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको छु।”
























