काठमाडौं । दशैं नजिकिएसँगै सेयर बजार पनि सुस्ताएको छ। यतिबेला बजारमा लगानीकर्ताले सेयर बिक्री गरेर दशैं खर्चको जोहो गर्नेछन्। खरिद गर्नेभन्दा बिक्री गर्ने हावी भएपछि सेयर बजार सुस्ताएको लगानीकर्ताहरू बताउँछन्। अर्को कुरा सेयर बिक्री गर्नेहरूले दशैंअघि रकम नपाउने भएपछि बिक्री गर्नेहरू पनि उत्साहित छैनन्।
सेयर बेचेको तीन दिनभित्र बिक्रेतालाई रकम भुक्तानी गर्नुपर्छ। तर, दुई दिन भोलि र पर्सी लगातार बिदा परेकाले यो अवधिमा बिक्रेताले रकम पाउने सम्भावना कम छ। आउने आइतबार सेयर कारोबार भएपनि त्यसको भोलिपल्टदेखि दशैं बिदा सुरू हुन्छ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२.०० विन्दुमा अडिएको छ।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक २७.८९ अंकले घटेको थियो। सो दिन ४ अर्ब १२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज नेप्सेसँगै कारोबार रकम बुधबारको तुलनामा घटेको छ।
यसदिन ३२७ वटा स्क्रिप्सको ७९ लाख ५३ हजार ७४० कित्ता सेयर ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँमा कारोबार भयो। हिम स्टार उर्जा कम्पनीको सेयरबाहेक अन्य कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
बिहीबार ३० करोड बढीको सेयर कारोबार गरी नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी युनियन हाइड्रोपावरले १८ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले ११ करोड, कालिका पावरले ७ करोड र लुम्बिनी विकास बैंकले ६ अर्ब मूल्य बराबरको सेयर कारोबार गरे। कारोबारमा आएकामध्ये १०७ स्टक्सको मूल्य बढ्दा १३९ वटाको घट्यो। पाँच स्टक्सको मूल्य भने स्थिर रह्यो।
चार समूहको उपसूचकबाहेक अन्यको घट्यो। बैंकिङ, इन्भेस्टमेन्ट,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो।

























