काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पदको लोभी नभएको तर अहिलेसम्म जिम्मेवारीबाट नहट्ने निर्णयमा रहेको बताएका छन् ।
बिहीबारदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु भएको पार्टीको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै, प्रचण्डले राष्ट्र, क्रान्ति र पार्टीका लागि अन्तिम क्षणसम्म संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
“जिम्मेवारीबाट पन्छिने बिल्कुलै सोचिएको छैन, तर पदलोलुपता मेरो नेचर हैन,” उनले भने, “अहिले पनि म नै हुनैपर्छ भन्ने अडान छैन। तर राष्ट्र, क्रान्ति र पार्टीको लागि अन्तिमसम्म लड्ने प्रतिज्ञा गर्दछु।”
प्रचण्डले पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम सहमति र समझदारी आवश्यक रहेको बताए। उनले नेतृत्व सधैँको लागि नभएको स्पष्ट पार्दै, क्रमिक हस्तान्तरणका लागि वातावरण बनाउनुपर्ने संकेत दिए । उनको यो संकेतले अध्यक्ष पद छाड्दैनन् भन्ने प्रष्ट भएको छ ।
शर्माको आलोचना र महाधिवेशन प्रस्ताव
उपमहासचिव जनार्दन शर्माले हालै पार्टी नेतृत्वको आलोचना गर्दै प्रचण्डको राजीनामा माग गर्दै आएका छन्। शर्माले विशेष महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको अभियान अघि बढाएका थिए।
त्यसको जवाफस्वरूप प्रचण्डले असोज ५ गतेको पदाधिकारी बैठकमा पार्टी केन्द्रीय समिति भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए।
आजको केन्द्रीय समिति बैठकबाट सो प्रस्ताव अनुमोदन गराई प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरिएको छ।
























