
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबार बिहान काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ। बैठकमा प्रारम्भमै केही युवा नेताहरूले सबै सदस्यले धारणा राख्न पाउनुपर्छ भन्ने माग राखेपछि हलमा केहीबेर तनाब सिर्जना भएको छ ।
बैठकको सुरुवात महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्दै गरे। उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा राजनीतिक प्रस्ताव प्रस्तुत गरिने जानकारी गराए। त्यसपछि उक्त प्रस्तावमा समूहगत छलफल हुने भनिएपछि केही युवा नेताले त्यसप्रति असन्तुष्टि जनाए।
व्यक्तिगत धारणा राख्न पाउनुपर्ने माग
पूर्वपर्यटनमन्त्री सुदन किराती, रन्जित तामाङलगायत नेताहरूले “जति दिन लागे पनि प्रत्येक केन्द्रीय सदस्यले व्यक्तिगत रूपमा धारणा राख्न पाउनुपर्छ” भन्ने माग राखे।
उनीहरूको भनाइपछि बैठकमा केही समय होहल्ला र विवाद देखिएको थियो।
विवाद चर्किएपछि महासचिव गुरुङले मिडियाकर्मीहरूलाई हलबाट बाहिर जान आग्रह गरेका थिए। यसले बैठकको प्रारम्भिक सत्र नै बन्द सत्रमा रूपान्तर गरिएको छ ।
बैठकमा विशेष महाधिवेशनको तयारी, आगामी आमनिर्वाचनको रणनीति, पार्टी एकता र सांगठानिक पुनर्संरचनालगायतका विषयमा छलफल हुने कार्यसूची छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गरेपछि, पार्टी सदस्यहरूले समूहगत छलफलमार्फत धारणा राख्ने भनिए पनि केही नेताहरू प्रत्यक्ष रूपमा धारणा राख्ने अवसर सुनिश्चित गरिनुपर्ने मागमा अडिएका छन्।
























