काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । राजनीतिक प्रस्ताव, महाधिवेशनको तयारी र नेतृत्व परिवर्तनका मागले बैठकको केन्द्रमा रहनेछ ।
बैठक आज दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी नेतृत्व र आगामी विशेष महाधिवेशनको तयारीबारे महत्वपूर्ण छलफल हुने भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। उक्त प्रस्तावमा हालको जेनजी युवा आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीको भावी दिशा–निर्देशनबारे छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
बैठकमा सहभागीहरुलाई प्रवेश शुल्कको रूपमा एक हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। पार्टी कार्यालय सचिव गणेशमान पुनका अनुसार, हल भाडा, खाजा, पानीलगायत व्यवस्थापन खर्च जुटाउन सबै सहभागीबाट न्यूनतम शुल्क संकलन गरिने निर्णय गरिएको हो।
पार्टीभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। उपमहासचिव जनार्दन शर्माले हालको नेतृत्वले मार्गदर्शन गर्न नसक्ने भन्दै प्रचण्डको राजीनामा र नयाँ नेतृत्व चयनको प्रस्ताव अघि सारेका छन्। उनले आइतबारको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक बनाइ विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए।
श्रेष्ठको धारणा पनि नेतृत्व परिवर्तनतर्फ केन्द्रित रहेको बैठक स्रोतले जनाएको छ। “अलग तर्क र सन्दर्भ भए पनि, दुवैजना नेतृत्वमा परिवर्तन चाहने साझा लाइनमा देखिए,” स्रोतको भनाइ छ।
महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमार्फत पार्टीका सबै संरचना भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन्। साथमा, महाधिवेशन आयोजक समितिको संयोजक आफैँ बन्ने प्रस्ताव पनि अघि सारिने भएको छ। उपाध्यक्ष पम्फा भुसालका अनुसार, बैठकले यही प्रस्तावलाई अनुमोदन गर्ने सम्भावना छ।
बैठकमा सबै सदस्यलाई व्यक्तिगत रूपमा बोल्न नदिई ७ भौगोलिक प्रदेश, ३ प्रवास क्षेत्र, सम्पर्क विशेष र उपत्यका विशेष २ समूह गरी १२ वटा समूह बनाएर छलफल गरिनेछ । प्रत्येक समूहले आफ्नो नेतृत्व चयन गर्नेछ, जसले बैठकमा समूहको धारणा प्रस्तुत गर्नेछ।
“सबै सदस्यलाई छुट्टै बोल्न दिने हो भने बैठक लम्बिन्छ, त्यसैले समूहगत छलफलमार्फत साङ्गठानिक संवादलाई प्रभावकारी बनाइने हो,” स्रोतले जानकारी दियो।
























