काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा शपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेका छन्। त्यस्तै उनले सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरू मात्रै प्रयोग प्राथमिकता दिने निर्णयका साथै अनलाइन सेवा विस्तारसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।
मन्त्री सिन्हाले निकै भावुक हुँदै जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिए। उनले शहीदको आहुति खेर जान नदिने प्रतिबद्धता जनाउँदै देश र जनताका लागि गम्भीर भएर काम गर्ने प्रतिबद्धता जनाए।
मन्त्री सिन्हाले वैदेशिक रोजगारीमा गएर फर्केका सीपलाई स्वदेशमा नै उपयोग गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान दिने बताए।
मन्त्री सिन्हाले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने जानकारी दिए ।

























