काठमाडौं । पत्रकार तथा ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।
खरेलले पत्रकारिता क्षेत्रमा २५ वर्षभन्दा बढी समय बिताइसकेका छन् । उनले ईमेज टेलिभिजनमा समाचार वाचनसहित ‘हटसीट’ जस्तो लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।
नवनियुक्त सञ्चारमन्त्री खरेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
यसैगरी प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरेकी छन् । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
यसैगरी अतिरिक्त स्वास्थ्य सचिव डा संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएका छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।
महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका छन् ।

























