सिरहा । सिरहाको लहान नगरपालिका–२३, गाढागाउँमा सिँचाइका निम्ति प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
शनिबार (असोज ४) बिहान घरनजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो ।
घटनापछि आफन्त तथा स्थानीयले उनलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याएका थिए । लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए । (रासस)
























