काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरे ।
उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।
राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैं पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गरे ।
राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताए ।
राष्ट्रपति पौडेलले दुई दिनको विरोध प्रर्दशनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गरे ।

























