
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय जलेर नष्ट भए पनि पार्टीको संकल्प र इच्छाशक्ति अविचलित रहेको बताएका छन् । संविधान दिवसको अवसरमा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीलाई कुनै पनि चुनौतीले पछि हटाउन नसक्ने स्पष्ट पारे ।
उनले भने, ‘कार्यालय खरानी भए पनि हाम्रो संकल्प मरेको छैन। हामी चुनौतीहरूबाट आत्तिने हैनौं, सामना गरेर अझ बलियो भएर अगाडि बढ्नेछौं।’ पोखरेलले पार्टीले इतिहासभरि अनेकौं कठिनाइ र साजिशको सामना गर्दै गौरवशाली यात्रा तय गरेको उल्लेख गर्दै वर्तमान चुनौतीहरू पनि पार गरिने विश्वास व्यक्त गरे ।
उनका अनुसार संविधान नेपाली जनताले दशकौं लामो संघर्षपछि प्राप्त गरेको उपलब्धि हो, र संविधान दिवस मुलुकलाई समृद्धि र स्थायित्वतर्फ उन्मुख गराउने राष्ट्रिय संकल्पको दिन हो ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूको असन्तोषलाई सम्बोधन गर्दै तिनलाई मूलधारको राजनीतिमा सक्रिय बनाउनु आजको आवश्यकता भएको बताए । उनले भने, ‘नव युवा पुस्तासँग हातेमालो गरेर उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउनु हाम्रो अभियान हो। एमाले युवाको भावना बोकेको पार्टीका रूपमा अगाडि बढ्नेछ ।’
महासचिव पोखरेलले हालका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै, नेताहरूको सम्पत्ति लक्षित गर्दै गरिएको आगजनी र तोडफोड लोकतान्त्रिक अभ्यास होइन भन्दै आलोचना गरे। ‘यस्ता हिंसात्मक कार्यहरू लोकतन्त्रमाथिको प्रहार हुन्। यसलाई नयाँ पुस्ताको आन्दोलन भनेर अथ्र्याउने प्रयास गलत हो,’ उनले भने ‘नयाँ पुस्ताको आन्दोलनको नाममा घुसपैठ गर्नेहरूले लुकेर गरेको काम हो यो ‘।
उनले पार्टीले विगतका कामको निरन्तर समीक्षा गर्दै हरेक वडाबाट युवाहरूलाई जोड्ने प्रयास गरिरहेको जानकारी पनि दिए । साथै, देशभर आगलागी तथा तोडफोडबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणमा एमाले एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।
























