काठमाडौं । अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न हिजो २४ घण्टे अल्टिमेटम दिएका जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ नेताले आज सामूहिक राजीनामा दिएका छन् ।
अध्यक्ष राउतलाई लिखित राजीनामा बुझाउनेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बम छन् ।
जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटम सहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अंहकारको भाषा बोलेको भन्दै उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका छन् ।
त्यसअघि राजीनामा माग्न पुगेका नेताहरूलाई अध्यक्ष राउतले यो उपयुक्त समय भन्दै उल्टै उनीहरूलाई पार्टी छाड्न सुझाव दिएको स्रोतको दावी छ ।

























