काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी समाधान खोज्न सकिएको भए राम्रो हुने थियो भनेका छन् ।
जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेलाई पत्रकारहरुले ‘संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ ?’ भन्ने जिज्ञासमा सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम जनता, आम क्षेत्र सबै लाग्नु पर्ने बताए ।
अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने पनि बताएका छन् ।
























