काठमाडौं । जेनजी आन्दोलनले देशको राजनीति र नेतृत्वप्रति उठाएका प्रश्नले माओवादी केन्द्रभित्र गहिरो बहस सुरु भएको छ। यिनै घटनाक्रमबीच माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन आग्रह गरेका छन् ।
अन्दोलनले स्थापित राजनीतिक शक्तिहरू र तिनका नेताहरूको औचित्यमाथि गम्भीर प्रश्न उठाएको भन्दै शर्माले पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र पारेका हुन् । उनका अनुसार, जेनजी आन्दोलनले दिएको सन्देश गम्भीर छ, जसलाई सकारात्मक ढंगले ग्रहण गर्दै पार्टी रुपान्तरणका दिशामा अघि बढ्नुपर्छ ।
शर्माले हालैका दिनमा पार्टी पंक्तिहरूमा छलफल सुरु गरेका छन् । एक सहभागी कार्यकर्ताका अनुसार शर्माले भनेका छन्, ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ। यसले नयाँ नेतृत्वको खोजी गरेको छ । यस्तो अवस्थामा पार्टीको मूल नेतृत्वले जिम्मेवारी छाड्नुपर्छ ।’
जेनजी आन्दोलन
भ्रष्टाचार, कमिसनतन्त्र, दलाली र सामाजिक सञ्जाल नियन्त्रणविरुद्ध युवाहरूले भदौ २३ मा काठमाडौंमा आयोजना गरेको प्रदर्शन नयाँ बानेश्वर पुग्दा हिंसात्मक बनेको थियो । त्यसपछिको घटनाक्रमले देशको राजनीति हल्लियो—प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए, राष्ट्रपति र शीर्ष नेताहरू नेपाली सेनाले सुरक्षित स्थानमा सार्नुपर्यो ।
अन्दोलनमा ७२ जनाको मृत्यु भएको छ। अधिकांश गोली लागेका थिए भने केहीको शव जलिरहेको अवस्थामा भेटिएको थियो ।
सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि मृतक परिवार अन्त्येष्टिमा सहमत भएका थिए।
प्रचण्डविरुद्ध आक्रामक जनार्दन
जनार्दन शर्माले विगतदेखि नै पार्टीभित्र सम्पत्ति छानबिनको माग गर्दै आएका थिए। अहिले उनी उक्त माग कार्यान्वयनका लागि स्वतन्त्र आयोग गठनको पक्षमा छन्। उनका अनुसार, यो आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, दलतन्त्र र कमिसनतन्त्रको यथार्थ उजागर गरेको छ, जसले देशलाई नयाँ बाटोमा डोऱ्याउने सम्भावना खोलेको छ।
शर्माले साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाएका थिए, यद्यपि उक्त प्रस्ताव पार्टी बहुमतले अस्वीकार गरेको थियो। अहिले भने उनले आफ्नो धारणा पुनः तीव्र रूपमा अघि सारेका छन्।
प्रचण्ड पक्षधरहरूले शर्मालाई पार्टीमा अराजकता मच्चाएको आरोप लगाएका छन्।
जेनजी आन्दोलनबारे जनार्दनको संश्लेषण र आगामी बाटो यस्तो छ–
१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, सँस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।
२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ ।
३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।
४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।
५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।
६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।
८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।
९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ ।
११. पार्टी भित्रका दलित महिलाका समस्याहरु समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।
१२. साँस्कृतिक बिचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।
१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।
१४. श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।
१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।
१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ ।
जनार्दनको यो प्रस्ताव र अभिव्यक्तिले पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमै बहस सुरु गराएको छ। अब प्रचण्डको जवाफ के आउनेछ भन्नेबारे चासो बढेको छ।

























