काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा निकालिएको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
ऊर्जामन्त्री घिसिङ गोपीकृष्ण हल क्षेत्रबाट शवयात्रामा सहभागी हुँदै राष्ट्रिय झण्डा बोकेका थिए, भने गृहमन्त्री अर्याल चाबहिल चोकबाट सहभागी हुँदै राष्ट्रिय झण्डा ओढेका थिए ।
शवयात्रा त्रिवि शिक्षण अस्पतालबाट सुरु भई चक्रपथ हुँदै पशुपति आर्यघाटतर्फ अघि बढिरहेको छ। मृतकका परिवार, आफन्त र समर्थकहरूले राष्ट्रिय झण्डा र मृतकका तस्वीरहरू बोकेर शवयात्रामा सहभागी भएका छन् । कतिपयले शरीरमा ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना?’ भन्ने सन्देश लेखिएको कपडा ओढेका छन्।
सरकारले आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै, असोज १ गतेलाई राष्ट्रिय शोक स्वरूप सार्वजनिक बिदा दिइएको छ। यो निर्णयपछि मृतकका परिवार अन्त्येष्टिमा सहभागी हुन तयार भएका हुन्।
जेनजी आन्दोलन सुरुवाती चरणमा शान्तिपूर्ण भए पनि पछिल्लो चरणमा हिंसात्मक बन्दै जाँदा ७२ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये अधिकांश गोली लागेर मृत्यु भएका हुन्, भने केहीको शव जलेको अवस्थामा भेटिएको थियो।
शवयात्रा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। उपस्थित जनसमूहले ‘जेनजी अमर रहोस्’ लगायतका नारासमेत लगाएका छन्।

























