काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले झन् बलियो भएर उठ्ने बताएका छन्। च्यासलस्थित पार्टी कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्यसहित एमाले उठ्ने बताए।
महासचिव पोखरेलले भदौ २३ र २४ को घटना नेपालको इतिहासमै योभन्दा ज्यादा विनाशकारी भएको बताए। एमालेले युवाहरूको चाहना र आकांक्षा पूरा गर्नेगरी योजना बनाइरहेका बेला दुःखद घटना भएको उनको भनाइ छ।
गत २२, २३ र २४ गते एमालेको विधान महाधिवेशनमा युवाहरूमा हुर्किँदै गरेको रुची र आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लामो छलफल गरी निर्णायक शक्तिको २१ बुँदे योजना बनाएको उनको भनाइ छ। महासचिव पोखरेलले युवाहरूको आकांक्षाको रूपमा सुशासन कायम हुनुपर्ने बताए। उनले सेवा प्रवाहमा प्रभावकारिता र विकासले गति लिओस् भन्ने अपेक्षा जायज रहेको बताए।
उनले संविधानभित्रैबाट युवाको चाहना बमोजिम सरकार बनाउन सकिने भए पनि त्यस विपरीत संविधानलाई कमजोर बनाउने प्रयत्न भएको आरोप लगाए।
युवाको आन्दोलनलाई लुटपाटमा बदल्ने खालको काम, राष्ट्रलाई कमजोर बनाउने कामप्रति गम्भीर आपत्ति जनाउँदै उनले दोषीहरूलाई पहिचान गरेर दण्डित गर्नुपर्ने बताए। त्यस्तै एमाले चुनावमा सहयोग गर्न तयार रहेको पनि बताए। अन्तरिम सरकारको काम नै निर्वाचन गराउने रहेको बताउँदै उनले एमाले त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।
























