काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा लुटिएका सामग्री फिर्ता गर्न संघीय संसद् सचिवालयले अनुरोध गरेको छ ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारी गर्दै प्रदर्शनका बेला संसद् भवन परिसरबाट विभिन्न सामग्री अनधिकृत रूपमा लगिएको जानकारी आएको जनाएको छ ।
सूचनामा भनिएको छ, “प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन लगायतका विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेका छन् भन्ने बुझिएको छ।”
सचिवालयले ती सामग्रीको अवस्थिति वा ती सामग्री साथमा राखेका व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा जानकारी गराउन अनुरोध गरेको छ । साथै, लुटपाटसँग सम्बन्धित भिडिओ सामग्री उपलब्ध गराउन पनि आग्रह गरिएको छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने आश्वासन दिइएको छ ।
गत भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन र त्यस परिसरमा रहेका सवारी साधनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

























