काठमाडौँ । चाडपर्वको समयमा यात्रुको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले समिति गठनसहित छबुँदे निर्णय गरेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन हुने समितिमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरू रहने छन्।
बैठकमा चाडपर्व लक्षित तयारीका रूपमा उपत्यकाबाट बाहिरिने सवारीसाधनहरूको प्राविधिक जाँच गर्ने र आवश्यकतानुसार यात्रु सहायता कक्षहरू निर्माण गर्ने निर्णय पनि गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, अहिले काठमाडौँमा रोकिएका यात्रुहरूलाई पहिला गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइनेछ। त्यसपछि मात्र दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय गरिएको छ।
यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको मूल्यांकन गरी क्षतिपूर्ति प्रक्रिया अघि बढाइनेछ। ट्राफिक प्रहरीलाई आवश्यक सामग्री मन्त्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराइनेछ।
बैठकले आन्दोलनको क्रममा लुटिएका हतियार वा अन्य सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नदिन तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको छ।

























