काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित जस्तो लागेको बताएकी छिन ।
पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै कार्कीले भनिन् ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ, यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याइने छ ।’
६ महिनाभन्दा बढी आफू सत्तामा नबस्ने प्रतिवद्धता जनाउँदै उनले भनिन् ‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन, सडकबाटै मलाई जिम्मा लिन आग्रह भएपछि म आएको हो । म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन । सेवा गर्न आएको हो।’
आफूलाई चुनौतिपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मौका मिलेको भन्दै सफलताको कामना गर्ने सबैलाई धन्यवाद दिइन् ।
सबैको साथ नभए संकटबाट पार पाउन सम्भवन नहुने बताउँदै उनले भनिन् ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुप्पिने अठोट म गर्छु। मलाई उहाँहरूले साथ दिनुपर्छ ।’
मुलुकको आवश्यक संस्थाहरुलाई छानिछानी आक्रमण भएकोमा दुःख व्यक्त गर्दै उनले भनिन् ‘हाम्रा सबै रेकर्डहरु नष्ट भयो। सर्वोच्चको फाइल जल्यो। भवन बनाउन सकिन्छ, तर रेकर्ड जल्दा हामी शूल्यमा पुग्यौँ ।’
उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, मन्त्रालयका भवन, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको टिप्पणी गरेकी छिन् ।
कतिपय व्यक्तिको, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, मास्ने काम भएको बताउँदै यसमा राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्नेमा विचार गर्ने बताइन् । ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्, त्यसमा पनि राज्य विचार गर्छ । हामी विचार गर्छौं कि उनीहरुलाई कसरी उठाउने ?’
























