काठमाडौँ । अमेरिकाले नेपालमा अन्तरिम सरकार गठन र जेनजी आन्दोलनपछि शान्तिपूर्ण समाधान निकालिएकोप्रति स्वागत जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिलाई सकारात्मक कदमको रूपमा व्याख्या गर्दै अमेरिका लोकतान्त्रिक प्रक्रिया र समाधानप्रति नेपालले देखाएको प्रतिबद्धताको प्रशंसा गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकालाई विशेष रुपमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “संक्रमणकाल सहज बनाउँदै शान्तिपूर्ण रूपमा नागरिक सरकार पुनर्स्थापित गर्न राष्ट्रपति र प्रधानसेनापतिको नेतृत्व उल्लेखनीय रह्यो ।”
अमेरिकाले जेनजी आन्दोलनका क्रममा भएका दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै नेपालको शान्ति र स्थायित्वका लागि आफू सदैव साथमा रहने जनाएको छ।
विज्ञप्तिमा आगामी महिनाहरूमा आयोजना हुने निर्वाचनप्रति समर्थन जनाउँदै अमेरिकाले त्यस प्रक्रियामा सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिएको छ ।

























