काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेश सरकारमा रहेका आफ्ना प्रतिनिधिहरू—मुख्यमन्त्रीसहित तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।
पार्टीका प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहालाई फिर्ता गरिएको उल्लेख गरिएको छ।
यादवका अनुसार, ती मन्त्रीहरूलाई सरकारबाट फिर्ता गरिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको घोषणा गरेका थिए । तर, उनले प्रदेश प्रमुखलाई लिखित रूपमा राजीनामा भने बुझाएका थिएनन् । पछि आफूले राजीनामा नदिएको अभिव्यक्ति दिएपछि सामाजिक र राजनीतिक रूपमा तीव्र आलोचना भएको थियो ।
यस घटनापछि उत्पन्न विवादलाई मध्यनजर गर्दै जनमत पार्टीको संसदीय दलले सरकारमा सहभागी आफ्ना सबै प्रतिनिधिहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
मधेस प्रदेश सरकारमा हाल जनमत पार्टीको नेतृत्वमा नेकपा (एमाले), नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत सहभागी थिए।


























