काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्काे निर्वाचन गराउनु रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो ।
साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ । कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गर्नुभएको छ ।
। राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाउनु भएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गर्नुभएको छ । यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हाल्नु भएको हो ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै देशलाई सफल बनाउन आग्रह समेत गर्नुभएको थियो । राष्ट्रपतिले भन्नुभयो “ धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।”
























