काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका माग सम्बोधन गर्न सम्बन्धित सरोकारवालालाई संविधानको सही कार्यान्वयनमार्फतै समाधान खोज्न सुझाएका छन् । शुक्रबार जारी गरेको वक्तव्यमा उनले आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र लुटपाटले मुलुकलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले भने, “अकालमा ज्यान गुमाउने सबैलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकमा डुबेका मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणको शक्ति मिलोस् भनी कामना गर्दछु।”
पूर्वराष्ट्रपति यादवका अनुसार, युवाहरूको आन्दोलन भ्रष्टाचार अन्त्य, पूर्ण अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्थाका लागि भएको स्वाभाविक र आधारभूत माग हो । तर, आन्दोलनको नाममा भएको विनाशको कारण र त्यसका कर्ताहरू पहिचान गर्नु अत्यन्त जरुरी रहेको बताए ।
नेपालको संविधान २०७२ र त्यसले दिएको मार्गचित्रलाई पालना गर्नु नै मुलुकको शान्ति, एकता र समृद्धिको एक मात्र उपाय भएको उनले जोड दिए ।
यसअगाडि सिंहदरबार, शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीले मुलुक र समाजमा गम्भीर प्रभाव पारेको उल्लेख गर्दै, पूर्वराष्ट्रपति यादवले २०६२/०६३ को जनआन्दोलन र संविधानले स्थापित शासन पद्धतिलाई कमजोर पार्ने प्रयासहरूलाई पनि सावधानीका साथ हेर्नुपर्ने बताए ।
उनले राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गरी प्रत्येक नागरिकको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार निकायहरूले अब थप ढिलाइ नगर्ने विश्वास व्यक्त गरे ।
अन्त्यमा, आन्दोलनका क्रममा थुप्रै औद्योगिक र व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोडले देशको अर्थतन्त्रलाई ठूलो चोट पु¥याएको भन्दै भविष्यमा यस्तो समस्या नहोस् भनेर सबैलाई गम्भीर हुन आग्रह गरे।
























