काठमाडौं । सरकारले गरेको दमनमा १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा देशव्यापी आन्दोलन तीव्र बनेको छ ।
प्रदर्शनकारीहरूले विभिन्न सहरका चोक-चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले नेताका निवास र सरकारी कार्यालयहरूलाई समेत निशाना बनाउन थालेका छन् ।
मंगलबार बिहान ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आन्दोलनकारीहरूले आगजनी गरेका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा तोडफोड भएको छ भने निवास अगाडिको प्रहरी बिटमा समेत आगजनी गरिएको छ ।
यसअघि सोमबार सुनसरीको इटहरी नगरपालिकामा आगजनी भएको थियो भने मंगलबार रौतहटको चन्द्रपुर नगरपालिकामा समेत आन्दोलनकारीहरूले आगजनी गरेका छन् ।
आन्दोलन चर्किएसँगै देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।




















