
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी (१३ देखि २८ वर्ष उमेर समूह)ले माइतीघरदेखि वानेश्वरचोकसम्म प्रदर्शन गरेका छन् ।
माइतीघरमा जम्मा भइ वानेश्वर पुगेका प्रदर्शनकारी कतिपय त स्कुल-कलेज पोशाक मै सहभागि भएका छन् । प्रदर्शनमा जेनजी पुस्ताका काका–हजुरवुवाहरु समेत प्रदर्शन हेर्न पुगेका छन । कतिपय प्रदर्शनकारीहरुले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् ।
प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक पूर्णरुपमा प्रभावित भएको छ ।
वानेश्वर पुगेका जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । जसले गर्दा सवारीँ आवागमन पूर्ण रुपमा बन्द भएको हो ।
अहिले उनीहरुलाई प्रहरीले एभरेष्ट होटलनेर ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेर अघि बढ्न दिएको छैन । प्रहरीले सुरक्षालाई कडा बनाएको छ ।
भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिनु परेको बताएका छन् ।
जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह, व्यक्ति र अभियन्ताहरुहरुले समर्थन गरेका छन् । कतिपय त प्रदर्शनमा सहभागि समेत भएका छन् ।



























