ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमार्फत पारित २९ बुँदे समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म चलेको महाधिवेशनले पारित गरेको प्रस्तावमा राष्ट्रिय अखण्डता, स्वाभिमान, आर्थिक सुधार, सुशासन, संघीय कार्यान्वयन लगायतका विषयमा पार्टीको स्पष्ट धारणा व्यक्त गरिएको छ ।
पार्टी सचिव योगेश भट्टराईको संयोजकत्वमा गठित सात सदस्यीय महाधिवेशनले समसामयिक प्रस्ताव तयार समितिद्वारा प्रस्तावित र महाधिवेशन प्रतिनिधिद्वारा पारित २९ बुँदे प्रस्तावमार्फत एमालेले देशको भूराजनीतिक अवस्था, आन्तरिक विकास, लोकतान्त्रिक प्रक्रिया, जनसंख्या, संघीयता, सुशासन, प्रविधि र अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा आफ्नो स्पष्ट र आधिकारिक धारणा प्रस्तुत गरेको छ ।
प्रस्तावमा भारतीय र चिनियाँ सरकारले लिपुलेकलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सहमतिप्रति गम्भीर असहमति जनाउँदै दुवै मुलुकलाई उक्त सहमति फिर्ता लिन आग्रह गरिएको छ । काली नदी पूर्वको भू–भाग नेपालको भएको पुष्टि गर्न नेपाल सरकारलाई उच्च कूटनीतिक पहल गर्न एमालेले माग गरेको छ ।
त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणको सन्दर्भमा, राष्ट्रपति सी चिनफिङसमक्ष व्यक्त गरिएको लिपुलेकसम्बन्धी असहमतिको प्रशंसा गरिएको छ । उक्त धारणा नेपालको राष्ट्रिय स्वाभिमान उच्च बनाउने कार्यका रूपमा वर्णन गरिएको छ । ओलीको रुस लगायत अन्य मुलुकका राष्ट्रप्रमुखहरूसँग भएको भेटघाटले पनि नेपालको कूटनीतिक हैसियत बलियो बनाएको उल्लेख गरिएको छ ।
एमाले–कांग्रेस सात बुँदे सहमतिका आधारमा बनेको ओली नेतृत्वको सरकारले देशमा राजनीतिक स्थायित्व ल्याएको दाबी गर्दै प्रस्तावमा ‘बरालिएको र ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काइएको’ भनिएको छ । सडक, सिँचाइ, सुरुङमार्ग लगायतका ठूला पूर्वाधार परियोजनामा गति आएको उल्लेख छ ।
त्यस्तै प्रधानमन्त्री ओलीका बहुपक्षीय तथा द्विपक्षीय सम्बोधनले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा देखिने बनाएको दाबी गर्दै प्रस्तावमा सहकारी र वित्तीय क्षेत्रमा अपचलन नियन्त्रण, बचतकर्ता सुरक्षामा पहल, भूमिहीन तथा सुकुम्बासी समस्याको समाधानको थालनी लगायतका उपलब्धिहरू उल्लेख गरिएका छन् ।
संविधान र लोकतान्त्रिक व्यवस्थामाथि हुने प्रतिगामी गतिविधिहरूलाई निष्क्रिय पार्दै लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने कार्यमा जोड दिइएको छ ।
महाधिवेशनले पहाडबाट तराई, गाउँबाट सहर तथा सहरबाट विदेश हुने बसाइँसराइँप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले सामाजिक, आर्थिक तथा राजनीतिक असन्तुलन निम्त्याउने चेतावनी दिएको छ । त्यस्तै, जनसंख्या वृद्धिको ऋणात्मक दर र लैंगिक असन्तुलनले ल्याउने दीर्घकालीन असरप्रति सचेत हुन आग्रह गरिएको छ ।
एमालेले संघीयता कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित विद्यालय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी ऐन समयमै बन्न नसक्दा सेवा प्रवाहमा समस्या आएको भन्दै ती विधेयकहरू तत्काल पारित गर्न संसद् र सांसदहरूको गम्भीर ध्यानाकर्षण गरिएको छ ।
त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति पार्टीको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै, सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोगप्रति चिन्ता व्यक्त गरिएको छ । सामाजिक सञ्जाल, साइबर सुरक्षा, एआईको प्रयोग, विद्युतीय कारोबार, ड्रोन सञ्चालन जस्ता विषयमा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
पार्टीेले इजरायल–प्यालेस्टाइन द्वन्द्वका सन्दर्भमा एमालेले सबै प्रकारका आतङ्कवादी आक्रमणको निन्दा गर्दै, हमासद्वारा अपहरण गरिएका नेपाली नागरिक विपिन जोशीको अविलम्ब सुरक्षित रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग जोडदार माग गरेको छ ।
त्यस्तै महाधिवेशनमा पार्टीका दिवंगत नेताहरू—पूर्व उपाध्यक्ष सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य प्रदीप नेपालसहित २० नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने ललितपुर जिल्ला कमिटी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिइएको छ ।

























