काठमाडौं । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीको आगामी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली नै निर्विकल्प भएको धारणा महाधिवेशन प्रतिनिधिहरूमाझ लगभग सर्वसम्मत रहेको दाबी गरेका छन्।
उनका अनुसार सातवटै भूगोल र तीनवटा गैर-भूगोल समूहका नेताहरूले केपी ओलीको विकल्प नरहेको भन्दै नेतृत्व निरन्तरताका लागि समर्थन व्यक्त गरेका छन्। गौतमले विधान महाधिवेशनको बन्द सत्रमा समूहगत प्रतिवेदनमार्फत यो धारणा स्पष्ट रुपमा आएको जानकारी दिए।
गौतमले विधान संशोधनको सन्दर्भमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने प्रस्तावलाई अधिकांश समूहले समर्थन गरेको पनि बताए। केही सञ्चारमाध्यमले यसबारे भ्रामक जानकारी दिएको भन्दै उनले आपत्ति जनाए।
“दशैटै समूहले मात्र होइन, भूगोल र गैर-भूगोल समूहका नेताहरूले पनि केपी ओलीकै नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा राखेका छन्,” गौतमले भने।
प्रदेश र समूहगत नेताहरूका अभिमत
सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लिपुलेकको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको भन्दै अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए।
कर्णाली अध्यक्ष गुलाबजंग शाहले अहिलेको समय नेतृत्वलाई थप स्थापित गर्ने अवसर भएको बताए।
लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व एकतावद्ध हुनुपर्ने धारणा राखे।
गण्डकी उपाध्यक्ष मीनप्रसाद गुरुङले “समृद्ध नेपाल, सुखी नेपाली”को लक्ष्यमा ओली नेतृत्वले दिशा देखाएको उल्लेख गरे।
बागमती अध्यक्ष कैलाश ढुंगेलका अनुसार उमेर हद र कार्यकालसम्बन्धी प्रावधान हटाउने प्रस्तावलाई बहुसंख्यकले समर्थन गरेका छन्।
मधेस अध्यक्ष चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनमा ओलीलाई पुनः नेतृत्व दिनुपर्ने धारणा राखे।
कोसी अध्यक्ष घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावलाई स्वागतयोग्य भने।
गैर-भूगोल समूहका नेता शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरुङले पनि आ-आफ्नो प्रतिवेदनमार्फत नेतृत्वप्रति समर्थन व्यक्त गरेका छन् ।
यसैवीच महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिइसकेको गौतमले जानकारी दिए ।
























