काठमाडौं । सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (आइतबार) सम्पन्न गर्ने तयारी गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको महाधिवेशन तेस्रो दिन हो ।
एमाले नेताहरूका अनुसार महाधिवेशन आजै साँझसम्म समसामयिक प्रस्ताव पारित गर्दै टुंगोमा पुर्याइनेछ । बिहान ९ बजेबाट सुरु भएको अन्तिम दिनको कार्यसूचीमा विभिन्न समूहले तयार पारेका सुझावमाथि प्रस्तुति, अध्यक्षको जवाफ र आवश्यकता परेमा मतदानबाट निर्णय गर्ने प्रक्रिया समावेश छ।
महाधिवेशनमा प्रस्तुत सातवटा प्रतिवेदनमाथि शनिबार १० वटा समूहबीच छलफल सम्पन्न भइसकेको छ । ती समूहहरू प्रदेशअनुसार (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम) साथै उपत्यका विशेष प्रदेश, जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास प्रतिनिधि र केन्द्रीय निकायबाट गठन गरिएका थिए ।
प्रत्येक समूहले छलफलपछि आफ्ना सुझावसहितको प्रतिवेदन तयार पारेका छन् । आज ती समूह नेताहरूले प्रतिवेदनमाथिका सुझावहरू महाधिवेशनमा प्रस्तुत गर्दैछन्।
समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । यदि कुनै विषयमा सहमति जुट्न सकेन भने, त्यसलाई मतदानमार्फत टुंग्याएर विधान पारित गरिने बताइएको छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । साथै, विभिन्न केन्द्रीय निकाय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदनहरू पनि प्रस्तुत गरिसकेका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनमा देशभरिबाट आएका २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जना सहभागी छन् ।
























