काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित सडकमा सवारीसाधनको ठक्करबाट शनिबार (भदौ २१) एकजनाको मृत्यु भएको छ । बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौंको चाबहिलमा बस्दै आएकी गोरखाकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् । जोरपाटीस्थित शंखरापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, काठमाडौंको सिनामंगलमा एक व्यक्ति मृत भेटिएका छन् । सिनामंगलस्थित तरकारी बजारनजिकै झाडीमा अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
ती व्यक्तिको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)
























