काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सरकारले सम्पर्कमा आएका छन्।
बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल निष्क्रिय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएपछि आठ कम्पनीले दर्ता प्रक्रिया सुरु गरेका हुन्।
सञ्चालक कम्पनी मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स)ले बिहीबार नै सूचीकरणका लागि आवश्यक कागजात बुझिसकेको थियो। त्यस्तै, ‘हाम्रो पात्रो’ पनि दर्ता प्रक्रिया सुरु गरेको छ।
अर्बपति एलन मस्कको ट्विटर (एक्स) शुक्रबार दर्ता प्रक्रियामा आएको छ। त्यस्तै, चिनियाँ कम्पनी वी च्याट पनि सम्पर्कमा आएको छ।
तर, नेपालमा अत्यधिक प्रयोगमा रहेको युट्युब अझै सम्पर्कमा आएको छैन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, निष्कृय गर्ने प्रक्रिया जारी रहेकाले सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाल बन्द हुनेछन्।
हालसम्म स्न्यापच्याट, लिंक्डइन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, मास्टोडोन, रम्बल, मि वी, मि भिके, लाइन, जालो, सोल लगायतका प्लेटफर्महरूले सम्पर्क गरेको छैन ।
























