काठमाडौँ । सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय कलंकीका करार सेवाका कार्यालय सहयोगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पुरानो नैकापस्थित नापी कार्यालयको ३ नम्बर टोलीमा कार्यरत एकेन्द्रबहादुर कुँवरलाई चन्द्रागिरि नगरपालिका–१३ मा रहेको एक जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाइदिने भन्दै घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको हो।
अख्तियारका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय, कलंकीमा दर्ता स्रेस्ता कायम रहेको सो जग्गाको नयाँ पूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै कुँवरले सेवाग्राहीसँग घुस माग गरेका थिए।
उक्त सूचनाका आधारमा अख्तियारले निगरानी थालेको थियो। अनुसन्धानका क्रममा कुँवरले सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
पक्राउ परेपछि उनलाई अख्तियारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान पूरा गरी विशेष अदालतमा भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको जनाएको छ।

























