काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्य रूपमा सुरु भएको छ। बिहानैदेखि महाधिवेशन स्थलमा चहलपहल बढेको छ भने प्रतिनिधिहरूको स्वागतमा सांस्कृतिक झाँकीसहितको विशेष कार्यक्रम आयोजना गरिएको छ।
हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका भेषभूषामा सजिएका एमाले कार्यकर्ताहरू सारंगी, ढोललगायत परम्परागत बाजासहित उपस्थित थिए। उनीहरूले नेपालको सांस्कृतिक विविधता प्रस्तुत गर्दै महाधिवेशनमा आउने अतिथि, प्रतिनिधि र पर्यवेक्षकलाई स्वागत गरेका छन्। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
कार्यक्रमको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको छ।
दोस्रो विधान महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जना सहभागी छन्। स्वयंसेवक, सुरक्षाकर्मी र प्राविधिक गरी झन्डै ३,५०० जनालाई खानाको व्यवस्था मिलाइएको छ।
गोदावरीको मुख्य सडकदेखि सम्मेलन केन्द्रको प्रवेशद्वारसम्म स्वयंसेवकहरूले सहभागीलाइ व्यवस्थित रूपमा स्वागत गरिरहेका छन्। प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सर्वसाधारणका सवारीसाधनका लागि सडक छेउमै पार्किङको व्यवस्था गरिएको छ।
मिडिया सेन्टर पर्खालसँगै राखिएको छ, जहाँ प्रत्यक्ष प्रसारणका लागि डिजिटल बोर्ड जडान गरिएको छ। हलभित्र सिट व्यवस्थापन प्रदेशअनुसार गरिएको छ। स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय सदस्य, आयोग प्रमुखहरूका लागि छुट्टै व्यवस्था गरिएको छ। मञ्च सजावटमा १८ पदाधिकारीका लागि अगाडि कुर्सी राखिएको छ। दुवैतर्फ पार्टी र राष्ट्रिय झण्डा सजाइएको छ।
मञ्चका विशेषता
– मञ्चको एकतर्फ पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ।
– अर्कोतर्फ कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्बिर सजाइएको छ।
– मञ्चको शीर्ष भागमा सगरमाथाको प्रतीक, त्यसमाथि सूर्यभित्र हँसिया-हथौडासहितको पार्टी लोगो र नेपालको राष्ट्रिय झण्डा राखिएको छ।
– हलका झ्यालहरूमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारा सहित दुई ठूला डिजिटल बोर्डहरू राखिएका छन्।
महाधिवेशन स्थलमा उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापन संयोजक बिनोद श्रेष्ठको नेतृत्वमा व्यवस्थापन कार्यहरू अघि बढाइएका छन्। प्राविधिक, सुरक्षा र अन्य तयारीहरू अन्तिम चरणमा पुगेका छन्।
महाधिवेशनले पार्टीको संगठनात्मक संरचना, नीति र कार्यदिशामा महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।
























