काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकपछि तुरुन्तै निर्णय कार्यान्वयनमा लैजाँदै मन्त्रालयले औपचारिक सूचना जारी गरेको हो।
सूचनामा उल्लेख भएअनुसार, सरकारद्वारा तोकिएको समयसीमाभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र यदि सूचीकरण गरेमा त्यसपछिबाट मात्र पुनः सक्रिय गर्न निर्देशन दिइएको छ।
यसअघि सर्वोच्च अदालतले सामाजिक सञ्जाल र ओटीटी प्लेटफर्महरू सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य सूचीकरण गर्नुपर्ने आदेश दिएको थियो। त्यसैको कार्यान्वयनस्वरूप सरकारले २०८० सालमा जारी गरिएको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका’ अनुसार सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि सात दिनको समय दिएको थियो।
सरकारले भदौ ९ गते मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गर्दै भदौ १२ गते सार्वजनिक सूचना जारी गरेको थियो। उक्त समयसीमा पूरा भइसकेपछि अब अपंजीकृत प्लेटफर्महरूमाथि निषेधाज्ञा लागू हुँदैछ।

























