काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा दर्ता (सूचीकरण) नगरिएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ।
मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय लिएको हो।
यसअघि २०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो। तर निर्देशन पालना नगरेका सामाजिक सञ्जाललाई अब निष्क्रिय बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले दिएको सात दिनको म्याद गएराति १२ बजे सकिएको छ। भदौ १२ गते मन्त्रालयले सूचना जारी गर्दै सूचीकृत नभएका प्लेटफर्महरूलाई चेतावनीसमेत दिएको थियो।
हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र औपचारिक रूपमा सूचीकरणमा परेका छन्।
सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ओटीटी एप्स तथा ब्राउजरमार्फत विज्ञापनसहित सामग्री प्रसारण हुने कार्यमा प्रतिबन्ध लगाउन र नियमनका लागि कानुनी व्यवस्था गर्न सरकारलाई परमादेश जारी गरिसकेको छ।
सरकारको यो निर्णय अनुसार फेसबुकसहित अन्य सूचीकृत नभएका सामाजिक सञ्जालहरू आजैदेखि नेपालमा बन्द हुने छन्।




















