काठमाडौँ । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। आजै उनी प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ।
मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।
हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन् ।
कार्यक्रममा खापुङले व्यवसायिक मूल्याङ्कन गर्दै आईजीपी नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै इमान्दारिताका साथ कर्तव्य पालना गर्ने बताए । उनले तीन दशकको सकसपूर्ण संघर्ष गर्दै प्रहरीको सर्वोच्च पदमा पुग्न पाएको बताए ।
खापुङले कुनै घटना विशेषको रुपमा प्रहरीको आलोचना हुने गरी पनि त्यसलाई सुझावको रुपमा लिनुपर्ने धारणा राखेका छन् ।




















