काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता पुनः प्राप्त गर्ने विषयलाई पार्टीभित्रको विवाद नभई भण्डारीको व्यक्तिगत आकांक्षा र पार्टीको निर्णयबीचको असमझदारीका रूपमा प्रस्तुत गरेका छन्।
आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले भने, “पूर्वराष्ट्रपति भण्डारीले संवैधानिक पद सम्हाल्दा पार्टी सदस्यता त्याग्नुभएको थियो। उहाँको आकांक्षा सदस्यता पुनः प्राप्त गर्ने हो, तर पार्टीको निर्णय त्यसअनुकूल छैन। यही कारण केही असमझदारी देखिएको हो।”
उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि के गर्ने भन्नेबारे एमालेमा स्पष्ट नीति नभएको उल्लेख गर्दै भने, “यो विषय एमालेका लागि नयाँ अभ्यास हो। हाम्रो पार्टी अहिलेसम्म यसबारे मौन थियो।”
पोखरेलका अनुसार पार्टी अहिले एउटा मूल्य र पद्धति स्थापनाको चरणमा छ। उनले भने, “राज्यको सर्वोच्च तहमा पुगिसकेकी व्यक्तित्व पार्टी राजनीतिमा पुनः फर्कन खोज्नु स्वाभाविक आकांक्षा हुन सक्छ। तर, पार्टीले यसमा स्पष्ट नीति लिँदा केही मतभेद देखिनु सामान्य हो। यसलाई विवाद भन्न मिल्दैन।”
माओवादी केन्द्रले उपराष्ट्रपतिलाई पार्टीको उपाध्यक्ष बनाएको विषयप्रति संकेत गर्दै पोखरेलले भने, “माओवादी अझै पनि राजनीतिक रूपले अपरिपक्व देखिन्छ। उसले बनाउने नीति दीर्घकालीन राजनीतिक नेतृत्व गर्न सक्ने खालको छैन।”
उनले थपे, “नेपालको प्रजातान्त्रिक अभ्यासमा एमाले र कांग्रेसका निर्णयहरू निर्णायक हुन्छन्। माओवादीको निर्णयहरू स्वाभाविक प्रक्रिया होइनन्।”
पोखरेलका अनुसार पार्टीभित्र केही नेताहरूले स्थायी समिति र केन्द्रीय समिति बैठकमा फरक मत राखे पनि अन्तिम निर्णय विधान महाधिवेशनले गर्ने प्रावधान छ। त्यसैले अहिले देखिएको मतभिन्नता सामान्य असहमति मात्र हो, नीतिगत विवाद होइन।
























