काठमाडौं । खोटाङको रावा बेसी गाउँपालिकाले काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ ।
रावा बेसी गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणले काठमाडौं, भक्तपुर, ललितपुर आसपासका क्षेत्रमा बस्दै आएका गाउँपालिकावासीका लागि काठमाडौंको चावहिलमा यही भदौ ५ र ६ गते र पूर्वी तराईका झापा, मोरङ, सुनसरीलगायत आसपासका क्षेत्रहरुमा वसोवास गर्दै आएका रावा बेसी गापाका जनताका लागि भदौ १४ र १५ गते इटहरी उपमहानगरपालिकाको सभाहलमा शिविर आयोजना गरेको थियो ।
शिविरमा पालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु जस्तै सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण, मालपोत तथा भूमि कर संकलन, पञ्जीकरण सम्वन्धी (जन्म, मृत्यु, बसाईसराइ, विवाह र सम्वन्ध विच्छेद आदि), वडा कार्यालयबाट प्रदान गरिने सिफारिसहरु उपलव्ध गराएको थियो ।
गाउँपालिका र ६ वटै वडाको सहभागितामा सम्पन्न शिविरबाट काठमाडौंमा ३३९ जना र इटहरीमा १६५ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
कतिपय पालिकामा सेवाग्रहीहरु पुग्दा पनि काम नहुने, ढिलासुस्ती हुने, झन्झट दिनेलगायतका गुनासाहरु आइरहेका बेलामा काम विशेषले पालिका बाहिर वसोवास गर्दैै आएका जनतालाई उनीहरु बसोवास गरिरहेकै ठाउँमा पुगेर छिटो छरितो रुपमा सेवा प्रदान गरेकोमा रावावेसी गाउँपालिकावासी तथा सेवाग्रहीहरुले पालिकालाई धन्यवाद दिएका छन् ।

























