काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा कुल २,३४१ जना सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गरिएको हो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनमा २,०२६ जना प्रतिनिधि सहभागी हुने छन् भने आयोजक टोलीका ३१५ जना थपिएर कुल सहभागी संख्या २,३४१ पुगेको हो।
महाधिवेशन भदौ २० गते (शुक्रबार) बिहान ११ बजे ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुनेछ। उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रस्ताव र प्रतिवेदनहरू
महाधिवेशनमा विभिन्न नेता तथा आयोगहरूले आ–आफ्ना प्रस्ताव र प्रतिवेदन प्रस्तुत गर्नेछन्:
राजनीतिक प्रतिवेदन – अध्यक्ष केपी शर्मा ओली
विधान संशोधन प्रस्ताव – उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल
संगठनात्मक प्रतिवेदन – महासचिव शंकर पोखरेल
विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने एमालेले जनाएको छ ।
त्यस्तै, उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधन सम्बन्धी प्रस्तावमा ७० वर्षे उमेरहद नरहने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अन्य आयोगका प्रतिवेदनहरू:
अनुशासन आयोग – अध्यक्ष केशव वडाल
लेखा आयोग – अध्यक्ष डा. पुष्प कँडेल
निर्वाचन आयोग – अध्यक्ष डा. विजय सुब्बा
सल्लाहकार परिषद – अध्यक्ष अमृतकुमार बोहोरा
प्रतिनिधिहरूबीच समूहगत छलफलको व्यवस्था गरिएको छ। महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व पनि निर्वाचित गर्नेछ।
व्यवस्थापन तथा तयारी पूरा
महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन ८ वटा उपसमिति गठन गरिएको छ। संयोजन र व्यवस्थापनको जिम्मेवारी निम्न नेतृत्वमा तोकिएको छ:
प्रतिनिधि व्यवस्थापन – काशीनाथ अधिकारी
आवास व्यवस्थापन – लालबाबु पण्डित
स्वयंसेवक परिचालन – भानुभक्त ढकाल
स्वास्थ्य सेवा व्यवस्थापन – कृष्णगोपाल श्रेष्ठ
प्रचार तथा प्रकाशन – राजेन्द्र गौतम
मञ्च तथा साजसज्जा – विनोद श्रेष्ठ
सांस्कृतिक कार्यक्रम तथा झाँकी – हेमराज राई
खाद्य तथा सचिवालय व्यवस्थापन – डा. भीष्म अधिकारी
साथै, सातदोबाटो चोकदेखि महाधिवेशन स्थलसम्म स्वागतद्वार, सांस्कृतिक झाँकी, यातायातको व्यवस्था, मिडिया सेन्टर, मेडिकल टिम, र स्वयंसेवक परिचालन लगायत आवश्यक सबै तयारी पूरा भइसकेको जनाइएको छ।
























