काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको असहमति पार्टी निर्णय नभई पूर्वराष्ट्रपति विद्या भण्डारीसम्बन्धी विषयमा मात्रै भएको स्पष्ट पारेका छन् ।
बुधबार पार्टीको विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको विषयमा भएको असहमति सचिवालय बैठकले नै टुंग्याउने जानकारी दिए ।
‘उहाँहरू (पाण्डे र ज्ञवाली) को असहमति प्रस्तावमाथि होइन, पूर्वराष्ट्रपति भण्डारीबारे पार्टीको अघिल्लो निर्णयमाथि हो,’ महासचिव पोखरेलले भने, ‘त्यस विषयमा छलफल गर्नुपर्छ कि पर्दैन भन्नेबारे निर्णय सचिवालय बैठकले गर्नेछ ।’
उनले पार्टी नेता कर्ण थापाले पार्टीको लोकतान्त्रिक अभ्यासबारे उठाएको प्रश्न पनि विधानमा छलफलको विषय हुनसक्ने संकेत गरे ।
‘कर्ण थापाले पार्टी जीवनमा लोकतान्त्रिकरणको कुरा उठाउनुभएको छ । उहाँले पनि विधानमा फरक मत राख्नुभएको छ । त्यो विषय पनि सचिवालय बैठकले निरूपण गर्नेछ,’ पोखरेलले थपे ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा स्पष्ट पार्दै पोखरेलले भने, ‘उहाँले (भण्डारीले) परित्याग गरेको सदस्यतालाई पुनः कायम गर्ने कि नगर्ने भन्नेबारे निर्णय आवश्यक छ । तर पार्टीले यसअघि पूर्वराष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी निर्णय गरिसकेको छ, पार्टी अहिले पनि त्यही निर्णयमा अडिग छ ।’
























