
काठमाडौं । जापानी अतिक्रमणविरूद्धको संघर्ष र दोस्रो विश्वयुद्धमा फासिवादविरूद्ध प्राप्त विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले राजधानी बेइजिङस्थित थ्येनआनमन चोकमा भव्य सैन्य परेड आयोजना गर्यो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै विश्व फेरि एकपटक शान्ति र युद्धको दोधारमा रहेको बताएका थिए। उनले चीन सधैं सत्य र न्यायको पक्षमा उभिने भन्दै शान्तिपूर्ण विकास नै मानव सभ्यताको भविष्य भएको स्पष्ट पारे।
सो अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनसहित २६ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको उपस्थिति रहेको थियो।
परेडमा चीनले पहिलोपटक आफ्ना केही अति गोप्य तथा अत्याधुनिक हतियार सार्वजनिक गर्दै आफ्नो सैन्य क्षमताको झल्को दिएको थियो।
सैन्य परेडमा विशेषत: चीनले आफ्नो सैन्य शक्ति, सांगठनिक क्षमता, आधुनिक प्रविधिको प्रदर्शन गरेको छ । अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, मिसाइल, लडाकु विमान, बमबर्षक विमान, ट्यांक लगायतको प्रदर्शन गरेको छ । एयर सो पनि प्रदर्शन गरिएको छ । त्यसक्रममा वर्षगाँठलाई जनाउन आकाशमै अंग्रेजी अक्षरमा ८० लेखिएको थियो ।
सैन्य परेडलाई चीनले सैन्य कौशल प्रदर्शन मात्रै नभइ राजनीतिक सन्देश दिने माध्यमका रूपमा समेत उपयोग गरेको छ । चीनको यो सैन्य परेडले केवल ऐतिहासिक विजयको स्मरणमात्र होइन, नयाँ युगको सैन्य शक्ति र प्रविधिमा आफू कत्तिको अगाडि पुगेको छ भन्ने सन्देश पनि विश्वलाई दिएको छ। यो प्रदर्शनले खासगरी एशिया-प्रशान्त क्षेत्रमा रणनीतिक सन्तुलनको विषयलाई फेरि चर्काएको छ।
परेडमा प्रदर्शन गरेका मुख्य हतियारहरू –

१. दुई सिटे जे–२०एस लडाकु विमान
चीनको जे–२० लडाकु विमानको नयाँ संस्करण “दुई सिटे जे–२०एस” परेडमा देखाइएको थियो। यो संस्करणले मानव-ड्रोन टिमिङको माध्यमबाट लडाकु ड्रोनहरूलाई समेत नियन्त्रण गर्न सक्छ। साथै, जे–३५ए लडाकु विमान पनि देखियो, जसले ६ वटा क्षेप्यास्त्र बोक्न सक्छ।

२. एच–६जे बमवर्षक
समुन्द्री क्षेत्रका लागि तयार पारिएको नयाँ नौसैनिक बमवर्षक “एच–६जे” विमान प्रदर्शित गरियो। यसले लामो दूरीसम्म लक्ष्यमा प्रहार गर्न सक्छ।
३. ‘क्यारिअर किलर’ वाईजे–१५ र वाईजे–१९ क्षेप्यास्त्र
वाईजे–१५ एक एंटी-शिप मिसाइल हो, जुन युद्धपोतलाई लक्षित गर्न प्रयोग गरिन्छ। यस्तै, पहिलोपटक सार्वजनिक भएको वाईजे–१९ एक हाइपरसोनिक ग्लाइड मिसाइल हो, जसले अमेरिकी वायुसेनाका विमानवाहक पोतहरूलाई लक्षित गर्न सक्ने अनुमान छ।

४. वाईजे–२० ब्यालिस्टिक मिसाइल
जमिन र पानी दुवैबाट प्रहार गर्न सक्ने क्षमतायुक्त वाईजे–२० मिसाइल ‘एयरक्राफ्ट क्यारिअर किलर’ भनेर चिनिन्छ।
५. सीजे–१००० हाइपरसोनिक क्रुज मिसाइल
यो मिसाइलले हजारौं किलोमिटर टाढासम्म लक्ष्यमा सटीक प्रहार गर्न सक्छ। लामो दूरीको यो हतियार चीनको हाइपरसोनिक क्षमताको प्रतीक मानिन्छ।
६. ‘गुआम किलर’ डीएफ–२६डी
५,००० किलोमिटर मारक क्षमतायुक्त यो ब्यालिस्टिक मिसाइल अमेरिकाको गुआमस्थित सैन्य आधारमा लक्षित गरिने सम्भावित हतियार हो, जसका कारण यसलाई “गुआम किलर” नाम दिइएको हो।

हवाई प्रतिरक्षा प्रणालीहरू
चीनले विभिन्न रेन्जका अत्याधुनिक एंटी-एयर मिसाइल प्रणालीहरू पनि परेडमा प्रस्तुत गर्यो:
एचक्यू–२०: पहिलोपटक सार्वजनिक।
एचक्यू–२२ए: १७० किलोमिटर रेन्ज।
एचक्यू–९: २५० किलोमिटर रेन्ज।
एचक्यू–१९: ब्यालिस्टिक मिसाइल र स्याटेलाइट नष्ट गर्न सक्षम।
एचक्यू–२९: नवीनतम प्रणाली, ब्यालिस्टिक मिसाइल रोक्न डिजाइन गरिएको।

तोप, ट्यांक र रकेट लन्चरहरू
पीएचएल–१६ रकेट लन्चर: अमेरिकाको हाइमार्सको प्रतिस्पर्धी मानिएको यो रकेट प्रणाली परेडमा प्रदर्शित गरियो।
९९बी ब्याटल ट्यांक: चीनको अत्याधुनिक ट्यांक, पहिलोपटक सार्वजनिक प्रदर्शनी।
ड्रोन प्रविधि
चीनले परेडमा उच्च प्रविधियुक्त ड्रोनहरू पनि प्रदर्शन गर्यो, जसमा:
जीजे–११, एफएज–९७ ड्रोनहरू
नयाँ एआई-आधारित ड्रोनहरू, जसको विवरण सार्वजनिक गरिएको छैन।







तस्बिरहरु : सिन्ह्वा/एपी/एएफपी

























