काठमाडौँ । चर्चित लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।
काठे भाकाकी चर्चित गायिका गोलेको क्यान्सर रोगको कारण गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पाँच हजार भन्दा बढी गीतमा स्वर दिएकी ५९ वर्षकी गोलेका ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका चर्चित गीतबाट उनले प्रख्याती पनि कमाएकी थिइन् ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा जन्मिएकी उनले नेपाली लोक दोहोरी, तामाङ सेलो भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन् ।
बौद्ध परम्परा अनुसार उनको आज अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघले जनाएको छ । त्यसअघि श्रद्धान्जलीका लागि उनको शव राष्ट्रिय नाचघरमा राखिने बताइएको छ । उनका दुई छोरी छन् । उनका पतिको पनि क्यान्सर रोगकै कारण केही वर्षअघि निधन भएको थियो ।

























