काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । आज विहानदेखि बसेको विधायन समितिको बैठकले विवादित विषयमा सहमति गरेर तयार गरेको मस्यौदा बाचन पछि विधेयक प्रतिवेदन पास गरिएको हो ।
असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।
समितिमा कर्मचारीको अवकाश उमेरमा समितिमा विवाद भएको थियो । प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । त्यसलाई सदर गरेर जाने सहमति भएपछि विधेयकको गाँठो फुकेको हो ।
समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी भएको छ ।

























